बिर्तामोड । साहित्य चौतारी झापाको १७औं वार्षिक उत्सव तथा आदिकवी भानुभक्त आचार्यको १०३औं जन्म जयन्तीको अवसरमा साहित्य चौतारीले सर्जकहरुलाई सम्मान गर्ने भएको छ ।
साहित्य चौतारीका अध्यक्ष टङ्क काफ्ले विकल्पका अनुसार यो वर्षको स्रष्टा सम्मान कवि तथा गजलकार केशव आचार्यलाई प्रदान गरिने छ । यसैगरी स्व. भिमबहादुर–पञ्चकुमारी स्मृति पुरस्कार कवि तथा कथाकार सेलिङ केसीलाई, स्व. धनमाया विमली स्मृति नवप्रतिभा पुरस्कार कवि तथा गजलकार हेमन्ता भण्डारीलाई प्रदान गरिने निर्णय भएको छ ।
सर्जकलाई सम्मानित र पुरस्कृत गरिने अन्य विधाहरु स्व. डिकमान विरही स्मृति सम्मान पुरस्कार गजलकार तथा गीतकार विवश बलिभद्र कोइरालालाई र स्व. जेबी आले स्मृति पुरस्कार फोटो व्यवसायी पुण्यप्रसाद प्रसाईंलाई प्रदान गरिने भएको छ ।
अध्यक्ष विकल्पका अनुसार होटल हिकोला हेरिटेजमा असार ३१ गते आयोजना गरिने १७औं वार्षिकोत्सवमा रामायण गायन, कविता वाचन, गजल वाचन, गीत गायन र नाच प्रदर्शनसमेत गरिने छ ।