
काठमाडौं । नेपालमा राम्रै व्यापार गरेको चलचित्र ऐश्वर्य अब अष्ट्रेलियमा प्रदर्शन हुने भएको छ ।
यसअघि जापान, अमेरिका र युके लगायतका सहरमा प्रदर्शन भइसकेको फिल्मलाई विदेश प्रदर्शन अन्तर्गत अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन गर्न लागिएको हो ।
फिल्मका प्रस्तुतकर्ता तथा अभिनेता रमेश उप्रेतीले सिड्नी रिलिज बारे जानकारी दिएका हुन् । ‘सिड्नीबासी नेपालीहरूसंगै बसेर फिल्म हेर्न आफू चाँडै त्यसतर्फ जान लागेको उनले जानकारी दिए ।
फिल्मलाई सिड्नीस्थित बरउडमा रहेको इभेन्ट सिनेमामा देखाइने छ । फेब्रुअरी ४ मा हुने यस शो लाइ हेर्न २५ डलरको टिकेट खरिद गर्नुपर्ने बताइएको छ भने फिल्मको शो पश्चात रमेश उप्रेतीसंग दर्शकको ‘मीट एण्ड ग्रीट’ पनि हुने अष्ट्रेलिया संयोजकले बताएको छ । चलचित्रको ‘तिमि रोएको पल’ बोलको गीतलाई दर्शकले निकै रुचाएका छन् ।
युट्युबमा गीतले एक करोड बढी भ्युज पाइसकेको छ । गीतमा शब्द र संगीत अर्जुन पोखरेलको रहेको छ भने यसलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् । फिल्ममा रमेश उप्रेतीसंगै प्रशान्त ताम्राकार, केकी अधिकारी, दीपिका प्रसाईं, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, तेन्जु योन्जन, विकाश खतिवडा लगायतको अभिनय रहेको छ ।