बिर्तामोड । पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला काठमाडौंमा पुरस्कृत एवम् सम्मानित भएका छन् ।
साहित्य विज्ञान प्रतिष्ठान नेपालले दोस्रो वार्षिकोत्सबको अवसरमा निरौलालाई झापाली काव्यतारा पुरस्कार तथा नेपालीपन सम्मान प्रदान गरेको हो । निरौलालाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नगद दशहजार र सम्मान पत्र प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष सगोत्री आर्चायले बताए ।
सोही कार्यक्रमा निरौला सहित पाँच जनालाई झापाली काव्यतारा र धनकुटेली पाँच जनालाई धनकुटेली काव्यतारा पुरस्कार तथा नेपालीपन सम्मान प्रदान गरिएको थियो । पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ । कार्यक्रममा विभिन्न विद्यालयमा अध्यनरत् २५ जना बालबालिकालाई राष्ट्रिय बालतारा पुरस्कार तथा नेपालीपन सम्मान प्रदान गरिएको थियो ।पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ ।
सोही कार्यक्रममा डा. अभि सुवेदीलाई राष्ट्रिय नाट्य तारा पुरस्कार, दीनानाथ शर्मालाई राष्ट्रिय निबन्ध तारा पुरस्कार, डा.रामप्रसाद ज्ञवालीलाई राष्ट्रिय काव्य तारा पुरस्कार, डा. सञ्जिव उप्रेतीलाई राष्ट्रिय सोध तारा पुरस्कार, घनश्याम खड्कालाई राष्ट्रिय आख्यान तारा पुरस्कार, डा.नवराज लम्साललाई राष्ट्रिय सञ्चार तारा पुरस्कार, गायक प्रमोद खरेललाई राष्ट्रिय गायन तारा पुरस्कार, कलाकारद्धय सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई राष्ट्रिय हाँस्य तारा पुरस्कार तथा नेपालीपन सम्मान प्रदान गरिएको प्रतिष्ठानका झपा सहसचिब ताराप्रकाश भट्टराईले बताए ।
पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ । सोही कार्यक्रममा ४० जना नारी स्रष्टाको कविता संग्रह विश्वासको पिरामिड, कवि सत्य पहाडीको कविता संग्रह फरजिका विरुद्धमा, भागीरथी ज्ञवालीको कविता संग्रह मातृगाथा, हेमा अधिकारीको कविता संग्रह नौमुरी स्नेह, रोशन परियारको कविता संग्रह सियोको दुर्विन, अविरल तिम्सिनाको गजल संग्रह पल्लवी पल विमोचन गरिएको प्रतिष्ठानका झापा कोषाध्यक्ष सिम्रन सिखडाले बताइन ।
साहित्य विज्ञान प्रतिष्ठानका अध्यक्ष सगोत्री आचार्यको अध्यक्षता तथा उपराष्ट्रपति पुनको प्रमुख आतिथ्य, र गृहमन्त्री शक्तिबहादुर बस्नेतको विशेष आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष भागीरथी ज्ञवालीले स्वागत र महासचिव रसिक किरातले सञ्चालन गरेका थिए ।