
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको ‘फिर्के’ फिल्म हेर्न सञ्चारमन्त्री मोहनबहादुर बस्नेत फिल्महल पुगेका छन्।
सोमबार राजधानीको राइजिङ मलको क्युज हल पुगेर फिल्म युनिटसँगै ‘फिर्के’ हेरेका मन्त्री बस्नेतले कथावस्तु राम्रो रहेको प्रतिक्रिया दिए।
मन्त्री बस्नेतले पछिल्लो समय समाजमा हुन सक्ने विषयलाई फिल्मले कथावस्तु बनाएको भन्दै समाजका विकृति हटाउन फिल्मले सकारात्मक भूमिका निर्वाह गर्न सक्ने बताए।
रवि डंगोल निर्देशित र सुलेमान शंकर ‘इकु’ ले निर्माण गरेको फिल्ममा इकुसँगै अर्पण थापा, क्रिष्टिना पौडेल, अर्जुन गुरुङ, ऋचा शर्मा लगायतको अभिनय छ।
चलचित्रमा गाउँबाट शहरमा आउँदा सामान्य मानिसले भोग्नुपर्ने समस्या र सतर्कताबाट सन्देश दिइएको छ । सुलेमान शंकरको मुख्य भूमिका रहेको सो चलचित्रका निर्मातामा ॐलाल गुरुङ र राजेश श्रेष्ठ तथा निर्देशकमा रवि डंगोल रहेका छन् ।
सुलेमानले यसअघि ‘इकु १’ र ‘इकु २’को निर्माण गरी सफलता प्राप्त गरिसकेका छन् ।