गरेको हुँ धेरै छल, धेरै कपट
चोरी, ठगीको नि सीमा छैन
धम्की पनि अलिअलि लाकै हुँ
तर कसैले बुझेनन् उबेला
चट्ट सजिएर ठाँट दिन्थें सवैसामू
सानो नबनी
बिके बोलीहरु, बिके व्यवहारहरू
बाँडिए सहाराहरू, तोडिए तगाराहरू
बनें सबैको आशाको थलो
नाटकै भए पनि गरी अरुको भलो
फुर्तीफार्ती बढ्दैथ्यो सँधैसँधै
अघि बढ्दै थें बुज्रुक झैं
झुकिन कहिलै
अनि
झुक्तिन भन्थें सकेसम्म
झुटो कसमको मर्यादाभित्र रही
भन्थें स्पष्टवक्ता हुँ, सत्यसावित छु
अहँ,
कसैले लाएनन् पत्तो अलिकती नि
समयसँगै सबैलाई झुटको भकारीभित्र
विचारबन्दी बनाएको
पत्याएकै थे सबैले
निष्पक्ष र सत्य बोल्छ भनेर
कसलाई के थाहा ?
परिस्थिति किनेका ती पल
परिस्थिति मोलेका ती पल
म बोल्दा या मुकै हुँदा
वाह्यनियन्त्रित छ भनेर
सम्झन्थे सबैसबैले
म मेरै उत्पादित मसला पोखिरहेछु
हैन, अहँ थिएन
म त सत्यलाई बन्दी बनाई
समाजसँग असत्य जोखिरहेथें
थाहा थियो र छ पनि
अभौतिक हैन भौतिक सत्य हो
अनैतिक हैन नैतिक बलवान हो
अमौलिक हैन मौलिक सत्य हो
काल्पनिक हैन सांसारिक सत्य हो
आखिरमा छुप्तैन भन्थे
हो रहेछ
पर्दा लाउन विर्सेकै बेला
छर्लङ्ग भयो ……..
म ढाँट बनें
– पृथ्वीनगर -८, प्रतिभाचौक, झापा
हाल रोडआइलेन्ड, अमेरिका