कस्तो अनौठो सम्बन्ध उनको अनि मेरो
उनी कहीँ कतै मेरो अनुहारमा अँध्यारो मौलायो भने
प्रकाश बटुल्छिन
ताकि-
प्रकाशझैँ चम्कियोस मेरो अनुहार ।
अनि म पनि
पूजा गर्छु हाम्रो सम्बन्धको
ताकि-
यसैगरी चलिरहोस सात जन्म।
अनि लेखियोस कथा प्रेमको
जसरी लेखियो रोमियो-जुलिएटको।
उनी भन्छिन –
तिमीलाई थाहा छ ?
हाम्रो माया पृथ्वि हो
अनि हामी जुन र घाम
ठिक त्यसैगरी
जसरी पहरा दिन्छन घाम र जुन पृथ्वीलाई
पालै पालो गरी।
कहिलेकाँही त लाग्छ
उनी म हुन र म उनी हुँ
अनि दङ्ग पर्छु आँफै
आखिर विज्ञानले
सोचाइको धरातल कति फराकिलो बनाएछ।
म भन्छु उनलाई कि
हाम्रो सम्बन्ध परालको आगोझैँ हो
किनकि एकअर्का बिना अपूर्ण छ कथा।
उनलाई म नै चाहिन्छ र मलाई उनी नै
किनकि-
हामीले हामीलाई प्रेम गर्न थालेको
हामीलाई भेटेपछि न हो ।
उनी प्रेममा प्रेमै मात्र खोज्छिन किनभने उनले बुझेकी छिन
उनको प्रेमी-
एक गरिब देशको वेरोजगार युवा हो ।
यसकारण त उनी मेरालागी मात्र उनी हुन
उनलाई अरुसित दाँजेको
मलाई पटक्कै ठिक लाग्दैन ।