एउटा पाठो थियो । एकचोटि ऊ मामाघरको हजुरआमासँग भेट गर्न घरबाट हिँड्यो । बाटोमा एउटा स्यालसँग उसको भेट भयो । स्यालले पाठोलाई भन्यो, ‘फुच्चे मने, म अब तँलाई खान्छु ।’
पाठोले बतायोस् ‘मलाई हजुरआमाको घर जान देऊ ।
मोटो-घाटो बन्न देऊ ।
त्यसपछि खाए हुन्छ ।’
स्यालले भन्योस् ‘कुरा त राम्रो गर्यौ ।’
पाठो केही पर मात्र पुगेको थियो, बाटोमा एउटा गिद्ध भेटियो ।
गिद्धले भन्यो, ‘तँलाई अब एकै गाँस पार्छु ।’
पाठोले उसैगरी जवाफ दियोस्
‘हजुरआमाको घर जान देऊ । मोटो-घाटो बन्न देऊ । त्यसपछि खाए हुन्छ ।’
गिद्धले भन्यो, ‘कुरो ठीक हो ।’
पाठो अगाडि बढ्यो । बाटोमा उसको भेट एउटा बाघसँग भयो ।
बाघले गर्जँदै भन्यो, ‘तयार हो, तँलाई अब खान्छु ।’
पाठोले उसलाई पनि अरुलाई जस्तै बतायोस्
‘मलाई पहिले हजुरआमाको घर जान देऊ । मोटो-घाटो बन्न देऊ ।त्यसपछि खाए हुन्छ ।’
बाघले भन्यो, ‘कुरो त साह्रै राम्रै हो ।’
पाठो अगाडि बढ्दै गयो । बाटोमा फ्याउरो, गरुड, कुकुरलगायत धेरै जनावर भेटिए । उसले सबैलाई एउटै कुरा बतायोस्
‘हजुरआमाको घर जान देऊ । मोटो-घाटो बन्न देऊ ।त्यसपछि खाए हुन्छ ।’
यसरी सबैबाट बचेर त्यो पाठो मामाघर पुग्यो । हजुरआमासँग उसले भन्यो- ‘आमा, मलाई टन्न ख्वाउनुस् र मोटो बनाउनुस् । मैले बाटोमा आउँदा जनावरहरुलाई वचन दिएको छु । उनीहरुले मलाई खाने भनेका छन् ।’
पाठोले धेरै खायो, पियो र मोटो-घाटो बन्यो । त्यसपछि उसले फेरि हजुरआमासँग भन्यो, ‘आमा, मेरो लागि छालाको एउटा ढोल बनाइदिनुस् । म त्यसमाथि बसेर गएँ भने बाटोमा कुनै पनि जनावरले मलाई चिन्दैनन् र खान पाउँदैनन् ।’
हजुरआमाले पाठोको लागि एउटा गजबको ढोल बनाइदिनुभयो । ढोलभित्र बस्न मिल्ने गरी कपास पनि बिछ्याइदिनुभयो । त्यसपछि पाठो ढोलभित्र बस्यो । ढोललाई जोडसँग धक्का मार्दा ऊ गुड्दैगुड्दै अघि बढ्यो ।
बाटोमा गरुड भेटियो । गरुडले उसलाई सोध्यो, ‘ए भाइ, कुनै पाठोलाई तिमी देख्यौ र ?’
ढोलभित्र बसेको पाठो बोल्योस्
‘कुन पाठो रु तिमी को हौ ?
हिँड् ए ढोल, डमडम गरी..’
यस्तो जवाफ दिँदै पाठो धेरै टाढा पुग्यो । अन्तमा पहिलेको स्यालसँग उसको भेट भयो । स्यालले पनि सोधिहाल्यो, ‘तिमीले कतै पाठोलाई देख्यौ र ?’
भित्रबाट पाठो बोल्योस्
‘कुन चाहिँ पाठो रु को हौ तिमी र ?
हिँड् ए ढोल, डमडम गरी ।’
स्यालले सोच्यो, ‘अरे ! यस्तो लाग्छ, पाठो त यही ढोलभित्र बसेको छ । यसलाई फोडूँ र पाठोलाई खपाखप खाइहालूँ ।’
तर, यसैबीच पाठोको घर आइपुग्यो र ऊ फटाफट घरभित्र पसिहाल्यो ।
स्याल ढोकाको छेउमा उभिएर हेरेको हेर्यै भयो ।