कञ्चनपुर । जिल्ला बाल क्लब सञ्जाल, कञ्चनपुरको अध्यक्षमा धिरज जोशीलाई चयन गर्दै महेन्द्रनगरमा आठौं जिल्ला स्तरिय बाल भेला सम्पन्न भएको छ ।
भेलामा कञ्चनपुर जिल्लाका ८ वटा नगरपालिका र गाविसका विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
बाल क्लबका पूर्व जिल्ला अध्यक्ष महेश पन्तको सभापतित्व भएको भेलामा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले बालमैत्री समाज निर्माणका लागि बालबालिका माथि लगानी आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति भोजराज बोहरा, नेकपा एमालेका जिल्ला अध्यक्ष तारालामा तामाङ्ग, माओवादी केन्द्रका गोपाल रसायली, डा. भोजराज पन्त, लिल्लाध्वज बस्नेत, सिद्धराज पन्त, दामोदर पन्त लगायतले मन्तव्य राखे ।
कार्यक्रममा केन्द्रिय बालकल्याण समितिका क्षेत्रिय बाल अधिकार निरिक्षक भुवनराज चटौत पनि सहभागी थिए ।
बालभेलामा विभिन्न विद्यालय, संघ संस्थाका प्रतिनिधि र विभिन्न प्रदेशका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको थियो । काभ्रे, भोजपुर, सिन्धुपाल्चोक र सुर्खेतबाट पनि बालक्लबका प्रतिनिधि उपस्थित थिए ।
भेलामा भिमदत्त नगरपालिकाका इण्टरनेशनल, प्mलोरिडा उ.मा.वि., आदर्श विद्या निकेतन, यूनाइटेड पब्लिक स्कुल, लिटिर बुद्ध एकेडेमी र ग्लोबल एकेडेमीका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाको क्षेत्रमा कृयाशिल तथा समाजसेवी र उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।
बालभेलाको उद्देश्य जिल्ला बाल समाजको नयाँ कार्यसमिति चयन गर्दै बालबालिकाको संजाल निर्माण गने आयोजक महेश पन्तले जानकारी दिए । भेलाले जोशीको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ ।