काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार साँझ अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय गुरुङका छोरा किशोर गुरुङका अनुसार पशुपति आर्यघाटमा मंगलबार नै हिन्दू र बौद्ध दुवै विधि अनुसार अन्तिम संस्कार गरिने छ। श्वासप्रश्वाससँगै गुरुङ भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित हुनुहुन्थ्यो । लामो समयदेखी मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारका लागि भर्ना गरिएको थियो। स्वर्गीय गुरुङको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान २ बजेर २७ मिनेट जाँदा निधन भएको थियो ।
दार्जिलिङमा १९९४ फागुन १५ मा बुवा उजिर सिंह गुरुङ र आमा रेनुका देवीको कोखबाट स्वर्गीय गुरुङको जन्म भएको थियो । उहाँका बुबा र हजुरबुबा देवराज गुरुङ पनि सेनाका जागिरे हुनुहुन्थ्यो । अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो । अम्बरले बिना गुरुङसँग बिहे भएको थियो । उहाँका तीन छोरा र एक छोरी छन् ।