झापा । वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको ७९ वर्षको उमेरमा काडमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मंगबार बिहान २ बजे ३७ मिनेटमा निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि संगीतकार गुरुङलाई सात दिनअघि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार बिहान उहाँलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो ।
श्वासप्रश्वाससँगै गुरुङ भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित हुनुहुन्थ्यो । लामो समयदेखी मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारका लागि भर्ना गरिएको थियो।
उहाँ भारतको मेदान्त अस्पतालमा उपचार गरी गएको चैत १७ गते नेपाल फर्किनुभएको थियो । दार्जिलिङमा १९९४ फागुन १५ मा बुवा उजिर सिंह गुरुङ र आमा रेनुका देवीको कोखबाट उहाँको जन्म भएको थियो । उहाँका बुबा र हजुरबुबा देवराज गुरुङ पनि सेनाका जागिरे हुनुहुन्थ्यो । अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो । अम्बरले बिना गुरुङसँग बिहे गर्नुभयाे । उहाँका तीन छोरा र एक छोरी छन् ।
झण्डै एक हजार गीतमा संगीत
राष्ट्रिय गानका संगीतकारका रूसमा धेरै परिचित रहनु भएका संगीतकार गुरुङले ९ सय ९४ गीतमा संगीत दिनुभएको छ । २०१८ सालमा अगम सिंह गिरीको शब्दमा ‘नौलाख तारा उदाए’ बोलको गीत आफ्नै संगीतमा गाएर उहाँले सांगीतिक यात्रा सुरु गर्नुभएको थियो ।
यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियाले प्रतिबन्ध लगाएको थियो । २०२४ सालमा दार्जिलिङबाट नेपाल आउनुभएका संगीतकार गुरुङले काठमाडौंमा रुपरेखा साँझ नाम सांगीतिक कार्यक्रम गुर्नभएको थियो ।
नेपाल आएलगतै उहाँलाई तत्कालीन राजा मेहन्द्रले राजकीय प्रज्ञाप्रतिष्ठानमा संगीत निर्देशकको रुपमा नियुक्त गर्नुभएको थियो ।
उहाँका चर्चित गीतमा स्वरसम्राट नारायण गोपालले गाएको मेरो आँखालाई राख्ने फूलबारी छैन, पोखिएर घामको झुल्का, अरुणा लामाले गाएको पोहोसाल खुसी फाट्यो, प्रेमध्वज प्रधानले गाएको हाँस्ने रहरहरु सहितका छन् । उहाँ आफैले गायको उकाली चड्दा पसिना पुछ्ने, म दूर भएर के भयो सहितका गीत पनि चर्चित छन् । उहाँले रातो र चन्द्र सूर्यमा पनि संगीत दिनुभएको छ ।
नाटक र चलचित्र
उहाँले चलचित्रमा मनको बाँधमा पृष्ठ संगीत, जीवन रेखामा पाश्र्व संगीत तथा गीति नाटक मालती मंगले, मुना मदन, कुन्जिनी तथा नाटक फर्केर हेर्दा, जब घाम लाग्छमा पनि संगीत गर्नुभएको थियो । उहाँकै संगीतमा अरुणा लामा तथा रुद्रमणि गरुङले पहिलो पटक गीत गायका थिए ।
उहाँ गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, शान्ति ठटालका गुरु हुनुहुन्छ । संगीतकार गुरुङले २०५४ सालमा नेपालमा क्वायर संगीतिक प्रस्तुति गर्नुभएको थियो । कहिले लहर कहिले तरंग तथा दोभान उहाँका चर्चित एल्बम हुन् ।
पुरस्कार र सम्मान
वि.सं. २०५४ सालको जगदम्बाश्री पुरस्कार, २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार गुरुङलाई प्रदान गरिएको थियो । नेपाली सेनाको सैनिक गीतमा संगीत दिनुभएका गुरुङलाई सेनाले ‘मानार्थ महासेनानी’को उपाधि दिएको छ । अम्बर गुरुङलाई सन् २०१४ हङकङमा हिमालयन् टोन्स म्युजिक एकेडेमीले ‘महासंगीतकार’ को उपाधि पाउनुभएको थियो । त्यस्तै, सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलीङबाट सम्मानित हुनुभएको थियो ।
अम्बरले अब हाम्रो अगाडि उभिएर कहिल्यै गीत गाउनुहुने छैन, उहाँका औंलाहरूले कुनै पियानो र हार्मोनिमबाट धुन निकाल्ने छैनन् । तर अम्बरले सृजना गरेका संगीत युगयुगसम्म नेपाली जातिको सम्पत्तिको रूपमा रहिरहनेछन् । नेपालीका सन्तान दरसन्तानले गुनगुनाइरहनेछन् अम्बरको संगीतको ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली ।’ अलबिदा अजर अम्बर ।