काठमाडौं । र्यापर यम बुद्धले आत्महत्या गरेको खबरले अहिले नेपाली सांगीतिक क्षेत्र स्तब्ध छ । श्रीमती अस्मिता अधिकारीसँग लण्डनमा बस्दै आएका यमबुद्धले आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन ।

शनिबार बिहान बाथरुममा मृत फेला परेका उनको मृत्युको कारण बुधबार पोस्टमार्टम गरेपछि मात्रै थाहा हुनेछ । यसरी आत्महत्या गर्ने सेलिब्रेटी यम बुद्धमात्रै हैनन् । उनी भन्दा पहिले पनि केही सेलिब्रेटीहरुले आत्महत्या गरेर यो संसारबाट बिदा भएका छन् । जसबारे हामी तपाईलाई जानकारी गराउँछौं ।
श्रीषा कार्की
२०५९ साल असोजमा आफ्नो नग्न तस्बिर जनआस्था साप्ताहिकमा प्रकाशित भएपछि मानसिक तनाव खेप्न नसकेर अभिनेत्री श्रीषा कार्कीले आत्महत्या गरिन् । श्रीषाले भैसैँपाटीस्थित आफ्नौ घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीषाले सन् २००२ मा आत्महत्या गरेकी थिइन् ।

त्यसबेला उनी २४ वर्षकी थिइन् । श्रीषा सानै उमेरमा राम्रो सफलता हात पार्ने अभिनेत्री हुन् । उनले सुख दुख, बाचा बन्धन, सोल्टिनी, अंशबण्डा, आवारालगायतका नेपाली सिनेमामा काम गरिसकेकी थिइन्।
आलोक नेम्वाङ
आलोक नेम्वाङ पनि आत्महत्या गर्ने सेलिब्रेटीमा पर्छन् । उनले २०७१ साल कात्तिक १९ गते धापासीमा रहेको आफ्नै अपार्टमेन्टको भर्याङमा झुण्डिएर आत्महत्या गरेका थिए ।
घरमा एक्लै बस्ने उनका साथीको नाममा एउटा कुकुर र एउटा बिरालो मात्रै थिए । आलोकको आत्महत्याको कारण उनको महिलातर्फ नभएर पुरुषतर्फको झुकावलाई मानिएको छ ।

उनको यो झुकावलाई समाज र परिवारले स्वीकार्न नसकेपछि उनले आत्महत्या गरेका थिए । अमेरिकामा अध्ययन सकेर फर्केका उनले इमेज च्यानलबाट काम शुरु गरेका थिए । उनले पहिलो पटक नवीन के भट्टराईको ‘लाखौँ पटक मैलै काशिस गरेँ’ बोलको गीतको भिडियो निर्देशन गरेका थिए ।
त्यसपछि उनले राजन इशानको ‘बसमा छैन मेरो मन’लाई पनि निर्देशन गरे । भिडियोले निकै चर्चा पायो । पछि क्रमश आलोकले निर्देशन गरेका म्युजिक भिडियोहरु चर्चामा रहे ।
आलोकले अहिलेका चर्चित नायक र नायिकाहरुलाई ब्रेक पनि दिएका छन् । अभिनेत्री नम्रता श्रेष्ठ, विनय श्रेष्ठ र कर्मालाई सिनेमा सानो संसारबाट आलोकले नै ब्रेक दिएका थिए ।
सानो संसार आलोकको पनि पहिलो सिनेमा थियो । त्यसपछि उनले कोही मेरो र अmझै पनि निर्देशन गरेका थिए । ‘अझै पनि’ रिलिज हुनु भन्दा केही समय अघि मात्रै अलोकले यो संसार छाडेका हुन् ।
जेसिका खड्का
अभिनेत्री तथा मोडल जेसिकाले पनि मानसिक तनावलाई खेप्न नसकेर आत्महत्याको बाटो रोजिन् । उनले सानै उमेरमा संसार छाड्ने निर्णय आफै लिइन् ।

लोक तथा हाँस्य गीतका सर्जक प्रकाश ओझासँगको यौनकाण्डपछि उनले आत्महत्या गरेकी थिइन् । उनको यौनकाण्डको भिडियो नै सार्वजनिक भएको थियो । वास्तविक नाम ज्योति खड्का भएकी उनले नाम फेरेर जेसिका बनाइन् र केही सिनेमामा पनि काम गरिन् ।
तर उनी नाम फेर्दापनि बर्षौँसम्म मानसिक तनावबाट बाहिर आउन सकिनन् जसका कारण सन् २०१२ मा आत्महत्या गरिन् । जेसिकाले जंगल र लभ सिनेमामा काम गरेकी थिइन् ।
कुल पोख्रेल
गायक कुल पोख्रेलले पनि आत्महत्या गरे र यो संसारबाट बिदा भए ।
लागुपदार्थ दुव्र्यसन र मानसिक तनावका कारण कुलले आत्महत्या गरेका हुन् । गायन कलाका कारण सानैदेखि चर्चामा आएका उनले २०६१ सालमा २३ बर्षको उमेरमा आत्महत्या गरेका थिए ।
कुलले मानसिक सन्तुलन गुमाएर आत्महत्याको बाटो रोजेका थिए । ‘बोलाउँदा नि बोल्दिनौ’ बोलको गीतबाट कुलले निकै चर्चा बटुले । आमा, यसपालिको दशैं कुलका चर्चित गीतहरु हुन् ।
योगिता मोक्तान
गायिका योगिता मोक्तान पनि आत्महत्या गरेर यो संसार छाड्ने निर्णयमा पुगिन् । व्यक्तिगत सम्बन्धहरुलाई सन्तुलन गर्न नसक्दा मानसिक तनावमा परेकी उनले सन् २०११ मा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

साभारः उज्यालोबाट ।