झापा- झापाको बिर्तामोड–२, दाहाल गाउँमा रहेको इन्जिनियरिङ कलेज, सहिद स्मृति प्रतिष्ठानले शुक्रबार एक विशेष विज्ञान प्रदर्शनीको आयोजना गरेको छ।
सहिद दिवसको अवसरलाई विशेष बनाउने उद्देश्यका साथ प्रतिष्ठानले यो कार्यक्रम आयोजना गरेको हो।
प्रदर्शनीमा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो प्राविधिक सीप र सिर्जना प्रस्तुत गरेका थिए।
उनीहरूले विभिन्न समूहमा विभाजित भई विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका पछिल्ला विकासक्रम र नवीनतम् प्रविधिलाई आधार बनाएर विभिन्न शैक्षिक तथा प्रयोगात्मक सामग्रीहरू निर्माण गरी प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूको हौसला बढाउन प्रदर्शनीमा प्रतिस्पर्धा समेत गराइएको थियो। प्रतिस्पर्धामा उत्कृष्ट सामग्री निर्माण गर्ने समूहहरूलाई पुरस्कृत गरिएको थियो, जसअन्तर्गत समूह ‘बी’ प्रथम, समूह ‘ए’ दोस्रो र समूह ‘सी’ तेस्रो स्थान हासिल गर्न सफल भए।


विजयी विद्यार्थीहरूलाई कार्यक्रममा पुरस्कार वितरण गरी थप प्रोत्साहन प्रदान गरिएको थियो।
विज्ञान प्रदर्शनीका साथसाथै प्रतिष्ठानले विद्यार्थीहरूको बौद्धिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरेको थियो।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउन र उनीहरूलाई प्रविधिको व्यावहारिक प्रयोगमा अभ्यस्त गराउन ठूलो मद्दत पुग्ने विश्वास प्रतिष्ठानले लिएको छ।
