बिर्तामोड- झापाको बिर्तामोड–४ मा अवस्थित इडन गार्डेन एजुकेसन फाउन्डेसनद्वारा आयोजित “नेपालको शैक्षिक सन्दर्भमा विद्यार्थीहरूका लागि एआई कार्यान्वयनका चुनौती र भावी मार्ग” विषयक अन्तरविद्यालय स्तरीय प्यानल डिस्कसन प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई पुरस्कृत गरिएको छ।
कार्यक्रमका निर्णायकहरू उमाकान्त खनाल, धर्मेन्द्र मामा भट्टराई, केशव उप्रेती तथा विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यले विजयी विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरे।
प्रतियोगितामा एभरेस्ट स्मार्ट स्कुलका हिङ्माङ लिम्बु प्रथम, लिटल फ्लावर बोर्डिङ स्कुलकी परिधि पाठक द्वितीय र तक्षशिला बोर्डिङ स्कुलका मानस ओडारी तृतीय हुन सफल भएका छन्।
इडन गार्डेनका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त प्रतिस्पर्धामा कञ्चनजङ्गा, लिटल फ्लावर, कन्काई, बिर्ता मोडेल, तक्षशिला, अनारमनी लिबर्टी, एभरेस्ट स्मार्ट, एमिटी र आयोजक इडन गार्डेन बोर्डिङ स्कुलका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
सहभागीहरूले नेपालको शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, यसका सम्भावना र सही उपयोगका विषयमा तार्किक धारणा प्रस्तुत गरेका थिए।
शिक्षक खेमराज आचार्यले सहजीकरण गरेको उक्त कार्यक्रममा सञ्चारकर्मी उमाकान्त खनाल, धर्मेन्द्र मामा भट्टराई र केशव उप्रेतीको निर्णायक मण्डल रहेको थियो।
निर्णायक खनालले विद्यार्थीहरूको प्रस्तुति उत्कृष्ट र परिस्कृत रहेको बताउँदै यस्ता कार्यक्रमले शैक्षिक उन्नयनमा टेवा पुग्ने उल्लेख गरे।
संस्थापक प्रिन्सिपल मोहन आचार्यले प्रविधिको तीव्र विकाससँगै विद्यार्थीहरूमा यसबारे कस्तो चेतना छ भन्ने पहिचान गर्न संवादमूलक कार्यक्रम आयोजना गरिएको बताए।
