झापा— बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सबै सरोकारवाला पक्षको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षामा पुग्न सकिने धारणा व्यक्त गरेकी छन्।
शुक्रबार सम्पन्न ‘सिकाइ उपलब्धि सुधार अभियान–२०८१’ को समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले कक्षा ८ को नतिजामा गणित, विज्ञान र सामाजिक विषयमा कमजोरी देखिएको उल्लेख गर्दै सकारात्मक सिकाइ आवश्यक रहेको बताइन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले संस्थागत विद्यालयहरूलाई पनि आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ‘सिकाइ उपलब्धि सुधार अभियान–२०८१’ को प्रगति समीक्षा गरिनुका साथै आगामी शैक्षिक सत्रका लागि योजनाहरू तय गरिएका थिए।
भण्डारीले शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूले सकारात्मक असर पारिरहेको विश्वास व्यक्त गरे। साथै, गत वर्षको तुलनामा माथिल्लो कक्षा पढ्न पाउने विद्यार्थीको प्रतिशतमा सुधार आएको भन्दै यो वर्ष ९७ प्रतिशत विद्यार्थीले अध्ययन अगाडि बढाउन पाएको जानकारी उनले दिए।
शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले अघिल्लो वर्ष तय गरिएका ६९ देखि ९१ प्रतिशतसम्मका सिकाइ उपलब्धि लक्ष्यहरू हासिल गरिएको जानकारी दिँदै, यस सफलताको श्रेय शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन सबैको संयुक्त प्रयासलाई दिए।
कार्यक्रममा नगर क्षेत्रका सबै अगुवा शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ‘प्रतिबद्धता पत्र–२०८२’ मा हस्ताक्षर गराउँदै सिकाइ सुधारका लागि विभिन्न बुँदाहरू तय गरिएको थियो।

प्रमुख प्रतिबद्धताहरूमा अघिल्लो वर्षका योजनाहरूको निरन्तरता, तालिमपछिको प्रयोगात्मक कार्यान्वयन, अनुसन्धानको दस्तावेजीकरण, कक्षाकोठा सजावट, तथा विषयगत उपलब्धि वृद्धिको लक्ष्य निर्धारण लगायतका बुँदाहरू समावेश छन्।
कार्यक्रममा मोहनमाया माविका विज्ञान शिक्षक लब तामाङ र लिटल फ्लावर्स अंग्रेजी माविकी अंग्रेजी शिक्षक प्रभा पराजुली शर्मालाई सम्मान गरिएको थियो। शुक्रबार आयोजित कार्यक्रमको अध्यक्षता शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य शिक्षा अधिकृत लासाङ तामाङले राखेकी थिइन्।
