झापा- आगामी निर्वाचनका लागि झापाका विभिन्न निर्वाचन क्षेत्रबाट १८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
यसरी उम्मेदवारी दिनेहरूमध्ये वरिष्ठ कानुनविद् प्रा.डा. युवराज संग्रौलाले झापा क्षेत्र नं. २ बाट आफ्नो मनोनयन दर्ता गराएका छन्।
हिजो दिउँसो अर्जुनधारा नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गरेपश्चात स्थानीय सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. संग्रौलाले आफू हारजितको परम्परागत खेलभन्दा माथि उठेर नयाँ विचार र अभियान स्थापित गर्न चुनावी मैदानमा उत्रिएको बताए। उनले आफ्नो उम्मेदवारीलाई एउटा वैचारिक आन्दोलनको रूपमा व्याख्या गरे।
त्यसैगरी, राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले पनि झापा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले आदिवासी समुदायको अधिकार, पहिचान र राजनीतिक स्वाभिमानको मुद्दालाई मुख्य एजेन्डा बनाएर आफू निर्वाचनमा होमिएको जानकारी दिए।
झापा जिल्लाभरका कुल ९० जना उम्मेदवारहरूमध्ये २० प्रतिशत उम्मेदवारी स्वतन्त्रतर्फ परेको देखिएको छ।
निर्वाचन क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी क्षेत्र नं. ५ बाट १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
स्वतन्त्र उम्मेदवारहरूको नामावली:
क्षेत्र नं. १: दुर्गाबहादुर साँवा लिम्बू र गणेशकुमार पोखरेल।
क्षेत्र नं. २: प्रा.डा. युवराज संग्रौला, पुण्यप्रसाद आचार्य र रमेशकुमार कार्की।
क्षेत्र नं. ३: अभय राजवंशी र मानबहादुर संग्रौला।
क्षेत्र नं. ४: साजन माझी।
क्षेत्र नं. ५: प्रकाश नेपाल, मातृका भट्टराई, शोभा भण्डारी, अर्जुन सापकोटा, खेमनाथ शिवाकोटी, डम्बर शाह, पुष्कर खतिवडा, रन्जना गौतम र विपुल गुरागाँई।
