झापा- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आगामी निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने र देश थप दुर्घटनातर्फ जाने दाबी गरेका छन्।
शुक्रबार झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भुसालले चुनावले मुलुकको समस्या समाधान गर्नुपर्ने भए पनि वर्तमान अवस्थामा त्यो सम्भव नदेखिएको बताए।
पार्टीहरूको कार्यशैलीप्रति कडा आलोचना गर्दै भुसालले ‘जेनजी’ आन्दोलनले दिएको सन्देशपछि पनि राजनीतिक दलहरूमा कुनै सुधार नआएको टिप्पणी गरे।
उनले पुराना पार्टीहरू ‘नालायक’ सावित भएको र उनीहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रहार गर्दै भुसालले यसलाई ‘भूइँफुट्टा’ पार्टीको संज्ञा दिए।
उनले भने, “रास्वपाको न कुनै निश्चित विचार छ, न त कुनै सिद्धान्त नै। यो एउटा ‘भूइँफुट्टा’ शक्ति मात्र हो।”
कुन पार्टीले जित्दा मुलुकलाई ठिक हुन्छ भन्ने पत्रकारको जिज्ञासामा भुसालले स्पष्ट जवाफ दिन नसकिने बताए। यद्यपि, मुलुकले अब नयाँ निकास खोजिरहेको उनको भनाइ थियो।
आफ्नो राजनीतिक यात्राको चर्चा गर्दै उनले विगतमा आफू आबद्ध रहेका नेकपा एमाले र एकीकृत समाजवादीमा रहँदा ‘घुस नखाने’ र स्वच्छ छवि भएको पार्टी बनाउन खोजे पनि त्यहाँ सम्भव नभएको स्वीकार गरे।
