काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको छ।
शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा होमिने निष्कर्ष निकालेको हो। यसअघि निर्वाचनपछि मात्र संसदीय दलको नेता चयन गर्ने परम्परा रहे पनि यसपटक कांग्रेसले चुनाव अगावै उम्मेदवार घोषणा गर्ने नयाँ रणनीति अख्तियार गरेको छ।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेका थिए, जसलाई केन्द्रीय कार्यसमितिले सर्वसम्मतिले पारित गरेको छ।
प्रस्ताव पारित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उपसभापति शर्माले थापालाई नै किन प्रधानमन्त्री बनाउनुपर्छ भन्नेबारे सातवटा ठोस कारणहरू समेत प्रस्तुत गरेका थिए। उनले यो निर्णय समयको माग र पार्टीभित्रको गतिशीलताको प्रतिविम्ब भएको बताए।
उपसभापति शर्माका अनुसार, सामान्यतया चुनावपछि मात्र प्रधानमन्त्रीको उम्मेदवार तय गरिने भए पनि देशको वर्तमान विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न कांग्रेसले यो साहसिक कदम चालेको हो।
चुनाव अभियानकै क्रममा स्पष्ट नेतृत्व अघि सार्दा मतदातामा भरोसा जगाउन सकिने र मुलुकको आवश्यकतालाई सही ढंगले सम्बोधन गर्न सकिने विश्वास कांग्रेसले लिएको छ।
