झापा- झापाको दमक नगरपालिका वडा नं. ४ चिया दोकानस्थित एक फर्निचर उद्योगमा काम गर्ने क्रममा मेसिनले हात काटिएर एक कामदार गम्भीर घाइते भएका छन्।
शनिबार बिहान करिब ६:१५ बजेको समयमा स्थानीय युवराज बुढाथोकीले सञ्चालन गरेको न्यु पाथिभरा फर्निचर उद्योगमा उक्त दुर्घटना भएको हो।
घाइते हुनेमा मोरङको रतुवामाई नगरपालिका वडा नं. ४ बस्ने ४० वर्षीय विर बहादुर ताजपुरिया रहेका छन्। उद्योगमा काठ चिर्ने क्रममा अचानक मेसिनले भेट्दा उनको बायाँ हात काटिएर शरीरबाट छुट्टिएको (चुडिएको) प्रहरीले जनाएको छ।
दुर्घटना लगतै उनलाई उद्धार गरी उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो।
त्यहाँ सामान्य उपचार गरे पश्चात थप उपचार र शल्यक्रियाका लागि उनलाई विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको छ।
घटनाको सम्बन्धमा मुचुल्का तयार गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।
