झापा — झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालले राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार अस्पताल परिसरमा आयोजित उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन्।
जिल्लामा हाल भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै अस्पतालले यो सामाजिक कार्यको आयोजना गरेको हो।
नर्सिङ पेशाको सम्मान र सेवाभावलाई जोड्दै अस्पतालले हरेक वर्ष यस्ता रचनात्मक कार्यक्रमहरू गर्दै आएको छ।
कार्यक्रमका बारेमा जानकारी दिँदै अस्पतालका कोषाध्यक्ष बुद्धिराम भट्टराईले समाज सेवामा अस्पतालको सधैं अग्रसरता रहने बताए।
उनले भने, “बिरामीको उपचारसँगै समाज सेवामा पनि मनमोहन अस्पतालको उल्लेख्य योगदान रहोस् भन्ने हाम्रो उद्देश्य हो। झापामा रगतको अभाव भइरहेको बेला यस कार्यक्रमले थोरै भए पनि राहत पुग्ने हामीले विश्वास लिएका छौं।”
रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्सिङ कर्मचारी, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
संकलित रगतले आपत्कालीन अवस्थाका बिरामीहरूका लागि ठूलो सहयोग पुग्ने अस्पताल प्रशासनले विश्वास लिएको छ।
