झापा- मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता ‘झापा गोल्डकप’ को सातौँ संस्करण यही माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने भएको छ ।
फागुन ४ गतेसम्म चल्ने यस वर्षको प्रतियोगितालाई ‘एक्स्ट्रम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण’ का रूपमा आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित यस संस्करणमा पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । आयोजकका अनुसार यस वर्षको विजेता टोलीले नगद १५ लाख रुपैयाँ र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’ लाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस वर्षको अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० वटा प्रतिष्ठित टोलीहरूको सहभागिता रहनेछ।
नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन्।
अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यका साथ २०७२ सालदेखि सुरु भएको यो प्रतियोगितालाई थप व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको अध्यक्ष केदार गिरीले जानकारी दिए ।
झापा जिल्लाका एक पुराना फुटबल खेलाडी र रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई जनही २५ हजार रुपैयाँले सम्मान तथा सहयोग प्रदान गरिने कार्यक्रम समेत रहेको छ ।
“झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रूपमा अगाडि बढाउन हामी प्रतिबद्ध छौँ,” अध्यक्ष गिरीले बताए ।
यस प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रम इनर्जी ड्रिङ्क्स’ रहेको छ भने विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठको टोलीले गरेको छ ।
