मुम्बई— भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान एक भयावह विमान दुर्घटनामा परी निधन भएको छ।
मुम्बईबाट आफ्नो गृहक्षेत्र बारामती जाने क्रममा उनी सवार चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान ८:४५ बजेतिर विमान धावनमार्ग (रनवे) नजिकै दुर्घटनामा परेको थियो।
खराब मौसम र कम दृश्यताका कारण विमान अवतरण गर्ने प्रयास गर्दा प्राविधिक समस्या उत्पन्न भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटना लगतै विमानमा भीषण आगलागी भएको थियो।
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार उक्त ‘लियरजेट ४५’ विमानमा उपमुख्यमन्त्री पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र दुईजना चालक दलका सदस्य गरी कुल ५ जना सवार थिए। दुर्घटनामा विमानमा सवार कोही पनि जीवित नरहेको अधिकारीहरूले पुष्टि गरेका छन्।
पवारका निजी सहायक अनिल ढिकालले पनि दुर्घटनामा उपमुख्यमन्त्रीको निधन भएको जानकारी दिएका छन्।
पवार आगामी जिल्ला परिषद् निर्वाचनको प्रचारप्रसारका लागि बारामतीमा आयोजित जनसभाहरूलाई सम्बोधन गर्न जाँदै थिए।
उनको असामयिक निधनपछि महाराष्ट्र सरकारले राज्यमा तीन दिनको शोक घोषणा गरेको छ भने आजका लागि सार्वजनिक बिदा समेत दिइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस लगायतका नेताहरूले पवारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई राज्यका लागि अपूरणीय क्षति भनेका छन्।
