काठमाडौँ- झापाको भद्रपुरमा जारी ‘झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव’ प्रहरी र प्रशासनको असहयोगका कारण निर्धारित समयअगावै स्थगित भएको छ ।
झापा उद्योग वाणिज्य संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ २२ गतेसम्म सञ्चालन हुने तय भएको महोत्सव प्रशासनको दबाब र प्रहरीको अमर्यादित व्यवहारका कारण रोक्न बाध्य भएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले सुरुमा समय सीमा नतोके पनि पछि हठात रूपमा महोत्सव राति ७ बजे नै बन्द गर्न निर्देशन दिएको थियो।
आयोजक र राजनीतिक दलहरूको पटक-पटकको आग्रहपछि समय बढाएर ९ बजेसम्म पुर्याइए पनि प्रहरीले सो समयअगावै साउण्ड सिस्टमको प्लग तान्ने, पिङबाट सर्वसाधारणलाई ओराल्ने र आयोजकलाई मानसिक तनाव दिने जस्ता कार्य गरेको विज्ञप्तिमा उल्लेख छ।
खासगरी जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रहरी उपरीक्षक आएपछि महोत्सवप्रति प्रशासन र प्रहरीको दृष्टिकोण नकारात्मक बनेको आयोजकको आरोप छ।
महोत्सव आयोजनाका लागि हालसम्म एक करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूसँग सम्झौता भई रकमसमेत भुक्तानी गरिसकिएको अवस्थामा कार्यक्रम स्थगित गर्नुपर्दा ठूलो आर्थिक क्षति भएको संघले जनाएको छ।
प्रशासनले ‘निर्वाचन आचारसंहिता’ को अस्वाभाविक कारण देखाएर उद्योग-व्यवसायलाई निरुत्साहित गरेको भन्दै संघले यस ज्यादतीविरुद्ध उद्योगी, व्यवसायी र राजनीतिक दलहरूलाई एकताबद्ध हुन आह्वान समेत गरेको छ।
वि.सं. २०१६ सालमा स्थापना भएको झापा उद्योग वाणिज्य संघले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन, स्थानीय कृषि उत्पादनको बजारीकरण गर्न र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ माघ ७ गतेदेखि मेची रंगशालामा महोत्सव सुरु गरेको थियो।
१२० भन्दा बढी स्टलहरू रहेको यस महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरूको समेत प्रस्तुति रहँदै आएको थियो।
