झापा- राष्ट्रियसभाको निर्वाचनमा कोशीबाट दलित तर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र महिला तर्फ रोशनी मेचे निर्वाचित भएका छन् ।
पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गरेका छन् । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे । सुन्दासले २ हजार २७ मत पाए । कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, राष्ट्रिय सभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार रोशनी मेचे विजयी भएकी छन् ।
उनले ७ हजार १ सय ७३ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपाने २ हजार २ सय ६८ मत पाइन् । अल्पसंख्क मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छिन् ।
२०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् ।
