काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई अनाहक दुःख दिने र अपमान गर्ने काम गरिरहेको आरोप लगाएका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शुक्रबार झापाबाट काठमाडौं फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो व्यवहार गरिएको भन्दै कडा असन्तुष्टि व्यक्त गरे।
अध्यक्ष ओलीका अनुसार, विमानस्थलका कर्मचारीहरूले ‘माथिबाट आदेश आएको छ’ भन्दै उनीमाथि कडा खानतलासी र अपमानित व्यवहार गरेका थिए।
उनले भने, “हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरिएको छ, हैरान पारिएको छ। नचिनेको ठाउँमा जाँदा कहिलेकाहीँ नेपालीलाई हेपेको देखिन्थ्यो, हिजो आफ्नै एयरपोर्टमा त्यस्तै व्यवहार गरियो।”
यस्तो व्यवहारले आफू कुनै सभ्य समाजमा नभएको जस्तो भान गराएको उनको टिप्पणी थियो।
सरकारको दृष्टिकोण र कार्यशैली अराजनीतिक एवं असभ्य भएको टिप्पणी गर्दै ओलीले सरकार जनताको इज्जत र सम्मानको रक्षा गर्नुको सट्टा प्रतिपक्षी नेताहरूलाई अपमान गर्नमा केन्द्रित रहेको आरोप लगाए।
उनले देशमा बेथिति र अन्याय बढेको उल्लेख गर्दै यो अवस्थालाई सुधार्न सभ्य र सुसंस्कृत समाजको निर्माण आवश्यक रहेको बताए।
अध्यक्ष ओलीले देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेको नेतृत्वमा सरकार बन्नुको विकल्प नरहेको दाबी समेत गरे। उनले आगामी निर्वाचनको फैसलाबाट यस्ता सबै गलत प्रवृत्तिहरूको अन्त्य हुने विश्वास व्यक्त गरे।
