झापा- नेपाल प्रज्ञा प्रतिष्ठानले झापाका दुई जना साहित्यकारसहित १० जनालाई वर्ष-२०८१ को साहित्य तथा संस्कृति पुरस्कार प्रदान गर्ने भएको छ।
प्रज्ञा प्रतिष्ठानले झापा भद्रपुर-१० निवासी भाषाविद् चुडामणि रेग्मीलाई प्रज्ञा भाषा पुरस्कार र अर्जुनधाराका स्रष्टा कृष्ण धरावासीलाई गद्यतर्फको प्रज्ञा साहित्य पुरस्कार प्रदान गर्ने भएको हो ।
त्यसैगरी, दिल साहनीलाई प्रज्ञा सामाजिक शास्त्र पुरस्कार, डिक वान्तवालाई प्रज्ञा संस्कृति पुरस्कार, शारदारमण नेपाललाई प्रज्ञा बाल साहित्य पुरस्कार र पद्यतर्फको प्रज्ञा साहित्य पुरस्कार जसराज किरातीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बिहीबार जारी गरेको सार्वजनिक विज्ञप्तिमा सुधा त्रिपाठीलाई प्रज्ञा समालोचना पुरस्कार, गोपीरमण उपाध्यायलाई प्रज्ञा दर्शन पुरस्कार, बलराम अधिकारीलाई प्रज्ञा अनुवाद पुरस्कार र भारतीय साहित्यकार भवीलाल लामिछानेलाई प्रज्ञा अन्तरदेशीय पुरस्कार-२०८१ ले सम्मान गर्ने जनाइएको छ।
प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशी प्रति पुरस्कार १ लाख रूपैयाँको छ। वर्ष २०८१को मातृभाषा साहित्य पुरस्कार पहाडी र हिमाली क्षेत्रतर्फ गणेश बाम्बुले राई र तराईरमधेस क्षेत्र तर्फको कमलसिंह रानालाई यस अघि नै अन्तर्राष्ट्रिय मातृभाषा दिवस, सन्-२०२५ का अवसर प्रदान गरिसकिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।