झापा । सोमबार निधन भएका भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको शवको अन्तिम सँस्कार आज मंगलबार हुने भएको छ ।
उनको शवको काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्तिम सँस्कार हुने भएको हो ।
सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको छिमेकीसमेत रहेका संगीतकार हरि लम्सालले बताए ।
अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको लम्सालले जानकारी दिए । उनले भने, ‘दसैंताका बुवा घरमै लड्नु भएको थियो । त्यसपछि उहाँ आराम गरिरहनु भएको थियो । उहाँको स्वास्थ्यमा सुधारसमेत भइरहेको थियो । तर सोमबार एक्कासी अक्सिजन लेभल घटेपछि उहाँलाई म र स्वरूप दाई मिलेर मेडिसिटी अस्पताल लैजाँदै थियौँ । त्यही क्रममा उहाँको निधन भएको हो ।’
०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् । आचार्यका श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् ।