बुधवारे । विर्तामोडको बाल्मिकी एजुकेसन फाउण्डेसनबाट हालै एसएलसी पास गरेका १५ वर्षीय दिवश कार्कीले ‘एसएलसी प्रिन्स’को उपाधि जितेका छन् ।
मुलुकभर एडिसनबाट छानिएका २५ जनाले भाग लिएको ‘ग्रान्ड फिनाले’मा झापाका दिवशले उपाधि जितेका हुन् ।
उनले ‘एसएलसी प्रिन्स’को उपाधिसँगै ३० हजार नगद पुरस्कार र ४ लाख रुपैयाँ बरावरको स्कलरशिप प्राप्त गरेका छन् ।
असार ७ गते प्रज्ञा भवन कमलादीमा भएको ग्रान्ड फिनालेमा नायिका रजनी केसी, गायक निर्णय, क्रिकेट एसोसिएसनका अध्यक्ष लगायतका निर्णायकहरू थिए ।
उनले यसैवर्ष बाल्मिकीबाट ‘ए’ ग्रेडमा एसएलसी पास गरेका हुन् । उनी काठमाडौँको गोल्डेन गेट कलेजमा कक्षा ११ मा पढ्ने भएका छन् । दिवशमा गीत गाउने र नाच्ने राम्रो क्षमता रहेको छ ।
‘देशभरका प्रतिष्पर्धीलाई उछिनेर विनर बन्न पाउँदा ज्यादै खुशी लागेको’ बताउने दिवशले भविष्यमा एमबीए पढेर राम्रो बिजनेसमेन बन्ने र सँगसँगै अभिनयको करियरलाई अघि बढाउने लक्ष्य लिएको बताए ।
बुधवारे–९ घर भएका दिवशले ‘एसएलसी प्रिन्स’ जस्तो गरिमामय उपाधि जितेकोमा स्थानीयवासी हर्षित भएका छन् । उनले यस अघि स्थानीयस्तरको ‘लिटल किङ’ प्रतियोगितामा सहभागिताको अनुभव लिइसकेका थिए ।
दिवशको सफलतामा उनकी आमा गङ्गा कार्कीले खुशी व्यक्त गर्दै उनमा सानैदेखि अध्ययनमा गहिरो लगाव राख्ने स्वाभाव भएको बताइन् ।