नयाँ दिल्ली । दक्षिणी छिमेकी देश भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् ।
मुर्मू भारतीय इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्न सफल भएकी हुन् ।
सत्तारूढ गठबन्धन एनडीएबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएकी मुर्मू विपक्षी दल त्रिणमुल कांग्रेसका यशवंत सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
१० लाख ८६ हजार बढी मत खसेकोमा मुर्मू ५ लाख ७७ हजार मत प्राप्त गर्दै विजयी भएकी हुन् । तेस्रो चरणको मत गणनामा ५० प्रतिशत मत पाएकी छिन् । विपक्षी दलका सिन्हाले २ लाख ६१ हजार मत पाएका छन् ।
यसैबीच, राष्ट्रपतिमा विजयी भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । मुर्मूको निवासमा पुगेर प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् । मोदीले भारतले नयाँ इतिहास रचेको प्रतिकृया दिएका छन्।
भारतीय जनता पार्टी (भाजपा) ले विभिन्न स्थानमा विजय जुलुस निकालेको छ । राष्ट्रपतिको रुपमा मुर्मूले २५ तारिख अर्थात सोमबार सपथ लिनेछिन्।