उत्तरकाशी, भारत- भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे वर्षा (क्लाउडबर्स्ट) पछि आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ।
यस घटनामा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन्।
उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार बाढीसँगै आएको लेदोले भौतिक संरचनाहरूमा समेत व्यापक क्षति पुगेको छ। यसबाट गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै यस विषयमा वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र परिस्थितिको नजिकबाट निगरानी गरिरहेको बताएका छन्।
हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको धराली गाउँमा आरीघोप्टे वर्षाका कारण खीर गढ नालीमा आएको बाढीले यो क्षति पुर्याएको हो। प्रत्यक्षदर्शीहरूले होटल र बजारका सबै संरचनाहरू नष्ट भएको बताउँदै यस्तो विपत्ति पहिले कहिल्यै नदेखेको बताएका छन्।
बाढीग्रस्त क्षेत्रमा तत्कालै प्रहरी, एसडीआरएफ, एनडीआरएफ, भारतीय सेना र अन्य उद्धार टोलीहरू परिचालन गरिएको छ।
भारतीय सेनाले अहिलेसम्म कम्तीमा १५ जनाको उद्धार गरिसकेको छ। बेपत्ताहरूको खोजी र उद्धार कार्य तीव्र गतिमा जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
