काठमाडौं– न्युयोर्क सहरमा भएको एक भयावह गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटना स्थानीय समय अनुसार मंगलबार बिहान भएको बताइएको छ।
न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार घटनामा पाँच जनालाई गोली लागेको थियो, जसमा एक जना प्रहरी अधिकारीसमेत परेका छन्। मेयरले मृतकमध्ये एक जना न्यूयोर्क प्रहरी विभाग (NYPD) का सदस्य रहेको पुष्टि गरेका छन्। अन्य दुई सर्वसाधारण र एक जना सुरक्षाकर्मी पनि घटनामा प्रभावित भएका छन्।
मेयर एडम्सले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भने, “भवनमा अझै पनि सुरक्षा जोखिम रहन सक्छ, त्यसैले कसैले पनि बाहिर ननिस्कनुहोस्। प्रहरीले भवनका सबै तला जाँच गरिरहेको छ।”
संदिग्धको पहिचान
सुरक्षा निकायका अनुसार आक्रमणकारीको पहिचान शेन डी. टमुराको रूपमा गरिएको छ, यद्यपि औपचारिक पुष्टि हुन बाँकी छ। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजले सीसीटीभी फुटेजमा टमुरा स्पष्ट देखिएको बताएको छ।
प्रहरीले घटनाको अनुसन्धान तीव्र पारेको छ र संदिग्धको खोजी कार्य जारी रहेको जानकारी दिएको छ।
स्थिति नियन्त्रणमा, तर सतर्कता कायम
प्रहरीको सक्रियतामा अहिले घटनास्थल नियन्त्रणमा लिइएको छ। गम्भीर घाइते व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
न्युयोर्क सहरमा पछिल्लो समय हिंसात्मक घटनाहरू बढ्दै गएकोप्रति अधिकारीहरू चिन्तित देखिएका छन्। प्रहरीले नागरिकहरूलाई सतर्क रहन र आधिकारिक सूचनामात्रै पालना गर्न आग्रह गरेको छ।
