काठमाडौं । शनिबार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करौडौँ रूपैयाँ नगद बरामद गरेको बताइएको छ ।
प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियो सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै गरेको देखिएका छन् । श्रीलङ्काका संचारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ ।
यसैबीच, अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै वस्तु स्थितिबारे भन्न सकिने बताएका छन् ।
आर्थिक मन्दीको सामना गरिरहेको श्रीलङ्काको अवस्था झन दयनीय बन्दै गइरहेका समय राष्ट्रपतिको राजीनामा माग्दै राष्ट्रपति कार्यालय प्रवेश गरेका प्रदर्शनकारीले शनिबार सबै कक्षलाई आफ्नो कब्जामा लिएको घोषणा गरेका थिए ।