एजेन्सी । रुसले युक्रेनका विद्यालय, अस्पताल तथा आवासीय क्षेत्रमा आक्रमण गर्न थालेको छ।
आक्रमणबाट जोगिन भाग्दै गरेका सर्वसाधारणमाथि निर्मम प्रहार भएको युक्रेनका अधिकारीहरुले जनाएका छन्।
रुसले सर्वसाधारणलाई निशाना बनाएर हवाई, रेकटसहितका आक्रमण गरिरहेको युक्रेनले बताएको हो।
युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्तेफानिशिनाका अनुसार रुसले अस्पताल, प्राथमिक शिक्षा केन्द्र तथा विद्यालयहरुसहितलाई निशाना बनाएको हो ।
बिसीसँगको अन्तर्वार्ताको क्रममा उनले रुसले लगातार सर्वसाधारण, आवासीय क्षेत्र र सार्वजनिक स्थानमा आक्रमण गरे पनि युक्रेनी आर्मीले कडा प्रतिवाद गरिरहेको बताइन् । उनले भनिन्, ‘रुसले सर्वसाधारणलाई विभाजित गर्न गम्भीर निशाना बनाइरहेको छ ।’
रुसले गरेको गोलाबारीका कारण आइतबार एक परिवारका चारजनाको मृत्यु भयो । युद्ध जारीरहेको इर्पिनबाट सुरक्षित स्थानमा जाने क्रममा उनीहरुको मृत्यु भएको हो ।
रुसकै आक्रमणका कारण तटीय शहर मारिपोलमा उद्धारको काम रोकिएको छ । सो शहर विगत पाँच दिनदेखि पानी, बिजुली तथा सरसफाइका सेवा बिहीन छ । खानेकुरा र पिउने पानीको पनि अभाव रहेको छ ।