काठमाडौं । भदौ २४ गतेदेखि प्रदर्शनमा आएको छक्का पञ्जा चलचित्र ७५औं दिनमा पनि दर्शकको मन जितिरहेको छ । नेपाली चलचित्र इतिहासमा अहिलेसम्मकै धेरै कमाउने चलचित्र छक्का पञ्जा बनेको छ । चलचित्रले १६ करोडमाथिको व्यापार गरेको बताइए पनि निर्माण पक्षले अहिलेसम्म आम्दानीबारे केही खुलाएको छैन ।
चलचित्र अझै पनि गोपी, गुणलगायतका आधा दर्जन हलमा लागिरहेका छन् । दीपाश्री निरौलाले निर्देशन गरेको पहिलो चलचित्र छक्का पञ्जाको ‘पूर्व पश्चिम रेल…’ गीत युट्युबमा ७२ लाख पटक हेरिएको छ । जुन दीपकराज गिरी, दीपाश्री निरौलाले बनाएको यसअघिको वडा नम्बर ६ को ‘सुर्के थैली…’ बोलको गीतपछि दोस्रो स्थानमा छ । ‘सुर्के थैली…’ एक करोडभन्दा बढी पटक हेरिएको छ ।
यस्तै, छक्का पञ्जाको ‘देख न चम्पा…’ बोलको गीत ३४ लाख पटक हेरिएको छ । सो गीतका संगीतकार दीपक शर्मा हुन् । कमेडी जनरामा बनेको छक्का पञ्जाको विषयवस्तु र संगीतलाई दर्शकले खुबै मन पराएका छन् ।
चलचित्र प्रदर्शनको ७५औं दिन पुगेकोमा निर्माता दीपकराज गिरीले सबैलाई धन्यवाद दिएका छन् । ‘प्रदर्शनका थुप्रै अग्ला कीर्तिमानसहितको आजको दिन सम्पूर्ण दर्शकलाई धन्यवाद कलाकार र प्राविधिकहरूलाई बधाई ….’ दीपकराजले भनेका छन् । चलचित्रले दुई दर्जनभन्दा बढी हलमा प्रदर्शनको ५१औं दिन मनाएको थियो ।
मिडिया एनपी
