वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ ।
महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।
बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ ।
नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेको छ ।
विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ ।
यस्तै, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागु गर्ने, असार १ गतेदेखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने लगायत सर्त पालना गर्नुपर्नेछ ।
