काठमाडौं। सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा आन्तरिक मुल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेकाे मन्त्रीपरिषद्काे बैठकले काेराेना संक्रमणकाे अवस्थालाई मध्यनजर गर्दै यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
‘शिक्षा मन्त्रालयले ल्याएकाे प्रस्तावलाई क्याबिनेटले पारित गरेकाे हाे, काेराेनाकाे पछिल्लाे अवस्था हेर्दा परीक्षा गर्न सम्भव पनि छैन, त्यसैले आन्तरिक मुल्यांकन विधिबाटै नतिजा सार्वनजनिक गर्ने निर्णय भएकाे हाे,’ ती मन्त्रीले भने।
राष्ट्रिय परीक्षा बाेर्डले जेठ १३ गते देखि एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेकाे थियाे। तर कोरोना भाइरसको महामारी तीब्र रुपमा फैलिएपछि बाेर्डले अर्काे सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको थियो ।
तर जेठ मध्य हुँदासमेत काेराेना संक्रमण नियन्त्रणमा नआएपछि बाेर्डले बैकल्पिक बिधिबाट भएपनि परीक्षा सञ्चालनका लागि शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेकाे थियाे। बाेर्डकाे साेही प्रस्ताव मन्त्रालयले क्याबिनेटमा लगेकाे थियाे।