काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले स्वागत गरेका छन् । उनले अख्तियारका विवादित अन्य आयुक्तलाई छानबिन गर्नुपर्ने बताएका छन् ।
डा.केसीले आठौं र नवौं आमरण अनशनमा अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसमेत अघि सारेका थिए । ‘ढिलो भए पनि छिट्टै महाभियोग प्रक्रिया निष्कर्षमा पुर्याएर कार्कीलगायत अन्य दोषी ठहरिनेलाई बर्खास्त गर्न सांसदहरूलाई आग्रह छ,’ बिहीबार उनले कान्तिपुरसँग भने । अख्तियारका आयुक्त राजनारायण पाठकविरुद्ध पनि महाभियोग प्रक्रिया अघि बढाउनुपर्ने डा.केसीको माग छ । विधिको शासन कायम गर्न र जनतालाई सुशासनको अनुभूति दिलाउन सांसदहरूले अहिले मौका पाएको जनाउँदै डा.केसीले यो मौका चुकाउन नहुने बताए ।
चिकित्सा शिक्षा, स्वास्थ्य सेवामा सुधार र सुशासनसँग सम्बन्धित आफ्ना अन्य मागहरू तिहारअघि पूरा नभए वा अन्य उपलब्धिलाई बिथोल्ने प्रयास गरिए कुनै पनि बेला आमरण अनशनमा बस्ने चेतावनी पनि उनले दिएका छन् । जनता र विद्यार्थीमुखी सुझाव समेटिएको चिकित्सा शिक्षा ऐन पारित हुन नदिन तीन दर्जन सांसद लागिपरेको पनि उनले बताए ।
केही सांसद माफिया र नेताको स्वार्थ पूरा गर्न विद्यार्थी र जनताको हितविपरीत रहने गरी गलत संशोधन प्रस्ताव पारित गराउने प्रयासमा रहेको आरोप उनले लगाए ।
चिकित्सा शिक्षा ऐनलाई आफूले सरकारसमक्ष पेस गरेका सुझावअनुसार संशोधन गरेर संसदको यसै अधिवेशनबाट तुरुन्त पारित गर्नुपर्नेमा डा.केसीले जोड दिए । ‘ऐन जारी नभएसम्म सम्बन्धन, विस्तारित कार्यक्रम वा प्रतिष्ठान, नयाँ मेडिकल शिक्षण संस्थालाई सम्बन्धन दिन हुँदैन,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।