काठमाडौँ । कांग्रेस–एमाले गठबन्धन बनेपछि छटपटिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले हरेक बैठक र सभामा ‘वामपन्थी एकता र सहकार्य’ मा जोड दिइरहेका छन् ।
बिहीबार सकिएको स्थायी समिति बैठकमा पनि उनले वामपन्थी एकता र समाजवादी शक्तिसँग सहकार्यमै जोड दिए । स्थायी समिति चलिरहेका बेला उनले यही साता एकीकृत समाजवादी (एस) अध्यक्ष माधवकुमार नेपालसँग दुईपल्ट र नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग एकपल्ट भेटेर पार्टी एकताको प्रस्ताव गरे ।
दाहालले दुवै नेतालाई सदन र सडकमा बलियो पार्टी बनाउने भन्दै एकताको प्रस्ताव गरेको निकट स्रोतको भनाइ छ । तर दुवै नेताले आ–आफ्नो पार्टीभित्र वामपन्थी एकताका लागि निर्णय गर्न बाँकी रहेको जवाफ दिएका छन् । ‘हतारमा पार्टी एकता गरेर फुर्सदमा पछुताउनुभन्दा अहिले नै बलियो आधार तयार गर्नु उपयुक्त हुने नेपाल र चन्दको भनाइ थियो’ दाहालनिकट एक नेताले भने, ‘सैद्धान्तिक रूपमा वापमन्थी एकताका लागि शीर्ष नेताहरू सहमत छन्, वैचारिक र प्राविधिक विषय मिलाउन बाँकी छ ।’
२०७४ को निर्वाचनपछि राजनीतिक र वैचारिक बहसबिना हतारमा एमाले र माओवादीबीच पार्टी एकता गर्दा विभाजन भोग्नुपरेको भन्दै पार्टीभित्र र पार्टी–पार्टीबीच राजनीतिक कार्यदिशमा सहमति भएपछि मात्र मिल्नु उचित हुने नेपालले दाहाललाई सुझाएका छन् । दाहाल भने सकेसम्म छिटो एस र नेकपासँग एकता गर्ने पक्षमा छन् । संसद्मा अहिलेभन्दा बलियो प्रतिपक्ष मोर्चा निर्माण गरी कांग्रेस–एमाले सरकारलाई दबाब दिने नीति दाहालको छ । कान्तिपुरमा खबर छ।
