काठमाडौँ । गत आमनिर्वाचनयता कहिले दायाँ त कहिले बायाँ नीति लिँदै सरकारको नेतृत्व गरिरहेको माओवादीले केन्द्रबाट सञ्चालन हुने सबै कार्यक्रम स्थगित गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल सरकारका काममा केन्द्रित भएको, केन्द्रीय नेताहरू केही मन्त्री र सांसद भएकाले संसद्मा व्यस्त हुनुपरेको भन्दै २०७९ मंसिरयताका केन्द्रीय कार्यक्रम माओवादीले स्थगित गरेको हो ।
तर मन्त्री र सांसद नभएका माओवादी नेताहरू भने उचित जिम्मेवारी नपाएर फुर्सदमा छन् । फुर्सदमा भएका नेताहरूका अनुसार माओवादीका लागि सत्ता र संसद् सबथोक जस्तो भएको छ ।
सरकारमा पुगेर पार्टीले अघि सारेका नीति जोडेर कार्यक्रम तय गर्ने बताएको माओवादीका लागि पछिल्लो समय सत्ता र संसद्बाहेक पार्टीको संगठन सुदृढीकरणको काम गौण बनेको छ । प्रमुख नेता सत्ता र संसद्मा मस्त हुँदा झन्पछि झन् कमजोर हुँदै आएको माओवादीको संगठन भने अस्तव्यस्त देखिएको छ ।
गत फागुन दोस्रो साता बसेको स्थायी समितिले तयार गरेको पूर्व–पश्चिम र उत्तर–दक्षिण अभियान अर्थात् हिमाल, पहाड, तराई–मधेश जोड्ने कार्यक्रम जेठमै स्थगित भइसकेको छ ।
यसअघि उसले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीनमहिने अभियान चलाएको थियो । प्रधानमन्त्री दाहालको व्यस्तताका कारण केन्द्रीय अभियान स्थगित गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।
‘प्रधानमन्त्री एवं अध्यक्ष, मन्त्रीहरू सरकारका काममा बढी व्यस्त हुनुपर्ने, सांसदहरू संसद्मा केन्द्रित हुनुपर्ने भएकाले हिमाल, पहाड, तराई–मधेश जोड्ने अभियान स्थगित भएको छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ।
