एजेन्सी । भारतीय क्रिकेट टिमले अहिले न्यूजिल्याण्ड विरुद्ध ५ सयौँ टेस्ट क्रिकेट खेलिरहेको छ।

सन् १९३२ मा बेलायतको उपनिवेश छदैँ भारतले टेस्ट क्रिकेट सुरु गरेको थियो। अहिले क्रिकेट भारतको सबैभन्दा लोकप्रिय खेल हो। त्यसैले भारतले ५ सय खेलको कोशेढुंगा पार गरेको अवसरमा धेरै क्रिकेटरहलाई सम्मान गर्यो। कानपूरमा न्यूजिल्याण्ड विरुद्ध खेल सुरु हुनअघि सुनिल गावास्करदेखी महेन्द्रसिंह धोनीसम्मले सम्मान थापे। तर, केही भारतीय सञ्चारमाध्यमको ध्यान अहिले अर्का एक खेलाडीमा केन्द्रित छ।
भारतको नम्बर एक दैनिक अखबार जागरणले लेखेको छ,’ विश्कपमा देशको प्रतिनिधित्व गर्ने सपना सबै क्रिकेटरको हुन्छ। भालाजी दामोर पनि भारतको जर्सीमा विश्वकप खेल्न चाहन्थे।’
विश्वकपमा सेमिफाइलन पुगेपछि तत्कालिन राष्ट्रपति के आर नारायणबाट सम्मान थाप्दै भालाजी। सन् १९९८ मा भएको पहिलो दृष्टीविहिन विश्वकपमा भालाजीले भारतलाई सेमिफाइनलसम्म लैजाने क्रममा अलराउन्ड प्रदर्शन गरे। उनले यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको अवार्ड समेत जिते।
गरिब परिवारमा जन्मिएका दृष्टीविहिन भालाजीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेपछी आफ्नो भाग्य परिवर्तन हुने ठानेका थिए। तर १८ वर्षपछी उनी गाउँमा भैसी चराउन र खेती-किसानी गर्नमै सीमित छन्। गुजरातका यि क्रिकेटरको नाममा आज पनि भारतका लागि सर्वाधिक विकेट लिने किर्तिमान छ। ३८ वर्षका भालाजीले १ सय २५ खेलमा ३ हजार १ सय २५ रन तथा १ सय ५० विकेट लिएका छन्।
उनले ८ वटा अन्तर्राष्ट्रिय खेलमा भारतको प्रतिनिधित्व गरेका थिए। ‘विश्वकपपछि मलाई कसैले जागिर दिनेछ भन्ने आशा थियो। तर, कतै जागिर पाइएन।’, भारी मन लिएर भालाजीले भनेका छन्। गुजरातको अराभाली जिल्लास्थित पिपराना गाउँमा भालाजी र उनको परिवार खेतीमा सक्रिय छ।
तर आफ्ना दाजूसँग मिलेर खेति गरिरहेका भालाजी यस पेशाले दैनिकी धान्न मुस्किल परेको गुनासो गर्छन्। उनकी श्रीमति अनु पनि किसान हुन्। चार वर्षका छोरा शतिश आँखा देख्छन्। भालाजी सानो रकम लिएर नजिकैको स्कुलमा दृष्टीविहिनहरुलाई क्रिकेट सिकाउँछन्। खेती-किसानीदेखी अन्य सबै आम्दानी जोड्दा भालाजीको पूरै परिवारको कमाई मासिक ३ हजार भारु. हुन आउँछ।
१७ वर्षअघि विश्वकपमा उत्कृष्ट खेलाडी भएबापत पाएको पुरस्कारको तुलनामा यो रकम २ हजारले कम हो। भालाजीको कोठामा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका पदकहरु झुण्ड्याइएको छ। ‘ विश्वकपको समयमा मलाई मेरा साथिहरुले सचिन तेन्दूलकर भनेर बोलाउँथे।’, भालाजी गर्वसाथ भन्छन्।

दृष्टीविहिन राष्ट्रिय संगठनका अध्यक्ष भास्कर मेहता भारतमा भालाजीजस्तो प्रतिभावान् अर्को दृष्टीविहिन क्रिकेटर नरहेको बताउँछन्।क्रिकेटमा विपक्षीलाई स्टम्प गरेको खण्डमा आँखा देख्ने खेलाडीहरुले समेत ठूलै प्रशंशा पाउँछन्। तर, भालाजीले दृष्टीविहिन भएर पनि स्टम्पमा निशाना साँध्ने गरेका थिए। ‘ भालाजी वयस्क छदाँ बाख्रा चराउँथे र उनमा क्रिकेटको दुर्लभ क्षमता थियो, त्यसैले हामीले उनलाई स्थानिय प्रतियोगितामा खेल्नका लागि निरन्तर हौसला दियौँ।
तर विश्वकपपछि उनी गुमनाम भए।’, मेहता भन्छन्। ‘ तितो सत्य के हो भने दृष्टीविहिन खेलाडीहरु तथा विशेष प्रकारको क्षमता भएका अपाङ खेलाडीहरुका लागि भारतमा कुनै सम्मान छैन्।’, भारतको दृष्टीविहिन महासंघका अध्यक्ष भूषण पुलानी भन्छन्।