इटहरी । नेपालमै पहिलो पटक इटहरीमा स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार अवको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर संचालनमा आउने छ ।
इटहरी वडा नम्वर ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग वन्ने भएको हो । जहाँ सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ ।
इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ । करिव १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ । सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफ्टरवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाँउमा पठाउने छ । पछि १मिनेटमानै पहिला भएको ठाँउमा ल्याइदिने छ । यो सिस्टम सबै अटोमेटिक हुने छ ।
त्यहाँ गाडी धुने स्मार्ट वास र कफिसपको पनि ब्यवस्था हुने छ । पार्क गरिसकेपछि सम्वन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने बिषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले वताए । इटहरीमा बढ्दाे सवारी पार्क गर्ने समस्यालाई नेपालमै पहिलो पटक बन्न लागेको यो स्मार्ट पार्किङ्गले समाधान गर्ने उपमहानगरको अपेक्षा छ ।