झापा— झापा जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत निर्वाचनसम्बन्धी सर्वेक्षण तथा मतप्रवाह गर्ने कार्य निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कडा चेतावनी जारी गरेको छ।
आइतबार जारी सूचनामा कार्यालयले फेसबुक, युट्युब लगायतका माध्यमबाट कुन दल, उम्मेदवार वा चुनाव चिन्हमा मतदान गरिन्छ भन्ने विषयमा सर्वेक्षण गरिँदै आएको जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता गतिविधिले मत गोपनीयता भंग गर्ने र निर्वाचन आचारसंहिता २०७९ को दफा ६ को उल्लंघन हुने स्पष्ट पारेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अर्जुन न्यौपाने र तेज प्रकाश प्रसाईद्वारा हस्ताक्षरित सूचनामा यस्ता कार्य नगर्न सबैलाई आग्रह गरिएको छ।
साथै, यस्ता गतिविधिको जानकारी प्राप्त भएमा प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको निष्पक्षता र गोपनीयता सुनिश्चित गर्न आम नागरिक, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ।
