इलाम– इलामको फाकफोकथुम गाउँपालिकामा घरायसी विवादका कारण दुई दिदीबहिनीबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ।
फाकफोकथुम–१ ठिङगेपुर बस्ने खम्बसिंह लिम्बूकी २९ वर्षीया छोरी अन्जली लिम्बू र उनका ठूलोबुबा/काकाका छोरी ३७ वर्षीया पुष्पा लिम्बूबीच शुक्रबार दिउँसो सामान्य विवादले उग्र रूप लिँदा उक्त दुःखद घटना घटेको हो।
प्रहरीका अनुसार, दिउँसो करिब ३ बजेतिर उनीहरूबीच कपाल लुछालुछसहित कुटाकुट भएको थियो। सोही क्रममा अन्जली लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
घटनाको प्रकृति र मृत्युको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ।
इलाका प्रहरी कार्यालय मंगलबारेले मृतकको शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको थियो।
थप परीक्षणका लागि शनिबार दिउँसो शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
झगडामा संलग्न पुष्पा लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय मंगलबारेमा राखेर घटनाबारे विस्तृत सोधपुछ र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
