विश्वविद्यालयहरुमा हुने दलीय भागबण्डाले शैक्षिक गुणस्तरमा प्रश्न उठ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
समाजवादी विद्यार्थी युनियनले मंगलबार काठमाडौंमा गरेको ‘विश्वविद्यालयमा हुने दलीय भागबण्डा र शिक्षा क्षेत्रमा पर्ने प्रभाव’ विषयको अन्तर्क्रियाका सहभागीले विश्वविद्यालयमा हुने राजनीतिप्रति चिन्ता व्यक्त गरे ।
उनीहरूले विश्वविद्यालयको गरिमा बढाउन शैक्षिक र प्राज्ञिक क्षेत्रबाट नेतृत्व चयन गरे मात्र विश्वविद्यालयको शाख जोगाउन सकिने बताए।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. केदारभक्त माथेमाले आफ्नो कार्यकालमा दलीय भागबण्डाको प्रवृत्ति रोक्ने कोशिस गरेपनि सहयोग नभएको गुनासाे गरे ।
समाजवादी पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हरेक क्षेत्रमा फैलिएको दलीय भागबण्डाले शिक्षा क्षेत्रलाई पनि गाँजेको भन्दै स्वच्छ नेतृत्व नआएसम्म विश्वविद्यालय राम्रो बन्न नसक्ने बताए ।