पोखरा । विगत ६ महिनादेखि आन्दोलनरत पोखरा विश्वविद्यालयका विद्यार्थीको माग सम्बोधन नगर्दा विश्वविद्यालयको पठनपाठन ठप्प हुनुका साथै विद्यार्थीले परिक्षा बहिष्कार समेत गरेका छन् ।
पोखरा विश्वविद्यालयका विद्यार्थीले डि प्लस श्रेणीमा पास भएकाहरुलाई पोखरा विश्व विद्यालयमा भर्ना लिने प्रावधान नभएको भए तापनि मातहतका कलेजले विद्यार्थी भर्ना लिएकोमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।
लामो समयदेखि आन्दोलनरत विद्यार्थीले पटक-पटक आन्दोलनका कार्यक्रम गरे तापनि विश्वविद्यालय प्रशासनले सुनुवाई नगरेकोमा आक्रोश पोखेका छन् । विद्यार्थीले पियुका उपकुलपति , रजिष्टार र परीक्षा नियन्त्रकको विरुद्धमा नाराबाजी गरेका थिए । त्यस्तै तिनै जनाको राजीनामाको माग गर्दै क्याम्पस प्रशासनमा सभाको आयोजना गरेका थिए ।
प्रहरीको लाठी चार्जबाट घाइते भएका बिद्यार्थीको उपचारको माग गर्दै क्याम्पस प्रशासन वार्ताका लागी तयार नरहेको पनि उनीहरुले आरोप लगाएका छन् ।
क्याम्पसमा हुने गरेको अनियमितता, बेथिति तथा नियम विपरीत विद्यार्थी भर्नाको विषयमा आन्दोलन गरेको उनीहरुको भनाई रहेको छ ।
नेपाल बिद्यार्थी संघ, अनेरास्वबियु, अखिल क्रान्तीकारी लगायतका विद्यार्थी संगठनको संयुक्त आन्दोलनलाई विश्वविद्यालय प्रशासनले दमन गर्न प्रहरी प्रशासन प्रयोग गरेको भन्दै विद्यार्थीले आन्दोलन झन तिब्र रुपमा अगाडि बढाउने चेतावनी दिएका छन् ।
क्याम्पसले वार्तामा बोलाएर बिद्यार्थीका मागहरु सम्बोधन गर्न छोडेर प्रहरीलाई प्रयोग गरेको, विद्यार्थीको परीक्षालाई बेवास्ता गर्दै थुनामा राखेर आन्दोलन दबाउन प्रहरीलाई क्याम्पसमा २४ घण्टा तैनाथ गरेको आरोप लगाएका छन् ।
अदालतले परीक्षामा सहभागी हुन दिने निर्णयसहितको फैसला सुनाएपछि डि प्लस ल्याएका बिद्यार्थीहरु परीक्षामा सहभागी भैरहेका छन् । विश्वविद्यालय अन्तरगतका बयालीस वटा क्याम्पसमा डी-प्लस ल्याएका विद्यार्थीलाई रजिष्ट्रेसन गरी परीक्षामा सहभागी गराएको छ । विश्वविद्यालयको नियमविपरीत भएको र विश्वबिद्यालयको नियमलाई पालना गर्नुपर्ने बताएका छन । सोमबारको परीक्षामा केही बिद्यार्थीले परीक्षा नै छोडेका थिए ।
गत सोमबार प्रहरीले आन्दोलनमा उत्रीएका ११ बिद्यार्थीलाई नियन्त्रणमा लिएर बेलुका अबेर छोडेको थियो । सोमबार बिद्यार्थीको रीहाइको माग गर्दै तथा वार्तामा नबसे पोखराका बिद्यालयहरु बन्द गर्ने भन्दै विद्यार्थी संगठनले बन्दको आह्वान गरेका थिए तर मंगलबार वार्ता गर्ने भन्दै क्याम्पस प्रशासनले सुचना निकालेपछि विद्यार्थीले बन्द फिर्ता लिएको घोषणा गरेका थिए ।
यता विद्यार्थीले क्याम्पसका उपकुलपति, रजिष्टार लगायतको उपस्थिति नभए आफुहरु वार्तामा नबस्ने भन्दै वार्तामा बसेनन् । उनीहरुले विगत लामो समयदेखि उपकुलपति, रजिष्टार क्याम्पसमा उपस्थित नरहेको भन्दै संवेदनशील नभएको आरोप लगाएका छन् ।
विरोधमा मंगलबार विद्यार्थीले क्याम्पसका उपकुलपति चिरञ्जीवि शर्मालाई काठमाडौँमा कालोमोसो दलेका थिए । विद्यार्थी र क्याम्पस प्रशासनबीच वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।