भद्रपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुर जीवन उपयोगी रोजगारमूलक शिक्षाको विस्तारमा लागेको छ । मानविकी, व्यवस्थापन तथा सामान्य विज्ञानका विषयमा विगतमा स्नातक तहमा अध्ययन अध्यापन हुने गरिएको भए पनि विगत केही बर्षदेखि विद्यार्थीको माग र समय अनुसारको उच्च शिक्षा दिने उद्धेश्यले उक्त क्याम्पसले विभिन्न रोजगारमूलक विषयहरुमा पठन पाठन गराइरहेको छ ।

विगत केही बर्षदेखि मेची बहुमुखी क्याम्पसमा स्नातक तहमा वातावरणीय विज्ञान, विविए तथा चिया प्रविधि तथा व्यवस्थापन विषयमा समेत पढाइ हुँदै आएको छ ।
जसका कारण विद्यार्थीले अहिलेको परिस्थितिमा जहाँ पनि प्रतिस्पर्धा गर्नेसक्ने क्षमता राख्नका लागि मदत पुग्ने क्याम्पस प्रमुख कमलप्रसाद गुरागाईं बताउँछन् ।
केही समयअघि मात्र चिया प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक तह पढेका ११ जना विद्यार्थीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा कृषि प्राविधिक पदमा स्थायी रोजगारी पाएका छन् ।
अब चिया प्रविधि तथा व्यवस्थापनको सट्टा ‘चिया विज्ञान’
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरले यही शैक्षिक सत्रदेखि चिया विज्ञानको स्नातक तह विएस्सी टि साइन्सको पठन पाठन गराउने भएको छ । क्याम्पसका प्रमुख कमल गुरागाईंले दिएको जानकारी अनुसार कक्षा १२ को परीक्षाफल प्ररीक्षा प्रकाशित भएपछि चिया विज्ञान स्नातक तहका लागि आवेदन खुलाइएको छ । त्यस्का साथै विविए, वातावरणीय विज्ञानमा समेत भर्ना खुला गरिएको उनले बताए ।
क्याम्पसले २०६८ सालदेखि चिया प्रविधि तथा व्यवस्थापन विषयको पठन पाठन गर्दै आएको थियो । यो शैक्षिक सत्रदेखि उक्त विषयलाई हटाएर चिया विज्ञानको पठनपाठन सुरु गर्न लागिएको क्याम्पस प्रमुख गुरागाईंले जानकारी दिए । उनले भने, ‘हामीलाई चिया विषयको अध्ययन अध्यापन कसरी गराउनुपर्ने रहेछ भनेर अनुभव पनि भयो । विषयलाई परिमार्जन नगरी नहुने रहेछ भनेर चिया प्रविधि तथा व्यवस्थापनलाई चिया विज्ञान बनाएका हौं ।’
चिया प्रविधि तथा व्यवस्थापन विषय पढने विद्यार्थीले स्नातकोत्तर विषयमा विज्ञानका अन्य विषय लिन नपाउने भएकाले उक्त विषयलाई चिया विज्ञानमा परिमार्जन गरिएको गुरागाईंले बताए । उनले चिया विज्ञान पढदा विज्ञानका अन्य विषयमा पनि स्नातकोत्तर पढन पाइने बताए । चिया प्रविधि तथा व्यवस्थापन विषयमा भने विद्यार्थीको आकर्षण बढन सकेको थिएन ।