काठमाडाैं- यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आइतबारदेखि शुरु हुँदैछ । एसईईमा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।
परीक्षा चैत २१ गतेसम्म चल्नेछ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षामा सहभागी हुने मध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएकामा दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीका अनुसार सामुदायिक विद्यालयका तीन लाख चार हजार १९६ विद्यार्थीमध्ये एक लाख ५८ हजार ३८९ छात्र र एक लाख १८ हजार ८०७ छात्रा छन् ।
निजी विद्यालयतर्फ कूल एक लाख ३४ हजार ८०७ मध्ये ७८ हजार ५६ छात्र र ५६ हजार ७५१ छात्रा छन् । परीक्षामा देशभरि एक हजार ९६९ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । परीक्षामा एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहायक केन्द्राध्यक्ष, २३ हजार ७५० निरीक्षक, चार हजार ७५० परीक्षा सहायक, नौ हजार पाँचसय कार्यालय सहयोगी, २९ हजार ५३५ सुरक्षाकर्मी गरी कुल ७२ हजार ६७१ जनशक्ति परिचालन हुने भएका छन् ।
परीक्षा नियन्त्रक अधिकारीले सातवटै प्रदेशमा अनिवार्य छ विषयका प्रश्नपत्र फरक फरक गरिएको जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी परीक्षा केन्द्र प्रदेश–३ मा ४१९ वटा कायम गरिएको छ । सबैभन्दा बढी परीक्षार्थी प्रदेश ३ मा एक लाख छ हजार दुई रहेका छन् ।