काठमाडौँ । विभिन्न माग राखेर आन्दोलनरत राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी) का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ। सरकारसँगको तीनबुँदे सहमतिपछि उनीहरुको आन्दोलन फिर्ता भएको हो ।
आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको टोलीले गरेको वार्तामा बुधबार तीन बुँदे सहमति भएको हो।
सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरद्वारा जारी गरेको विज्ञप्तिमा आन्दोलन फिर्ता भएको जनाइएको छ।
राहत अनुदान कोटामा नियुक्त भएका शिक्षक तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डको आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक र खुला प्रतियोगितात्मक परीक्षाबाट स्थायी प्रक्रियामा लैजान मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने सहमति भएको छ । यसका साथै सहमति अनुसार परीक्षामा सहभागी हुन एक पटकका लागि उमेरको हद लाग्ने छैन।