एजेन्सी । इन्टरनेट जाएन्ट गुगलले आफ्नो नयाँ भिडियो च्याटिङ एप गुगल डुओ सार्वजनिक गरेको छ ।
फेसबुकको मेसेन्जर, माइक्रोसफ्टको स्काइप तथा एप्पलको फेस टाइम जस्ता एक से एक भिडियो च्याटिङ एपहरुलाई टक्कर दिने सोँचका लागि गुगलले डुओ ल्याएको बताइएको छ ।
यद्यपि यो विद्यमान अरु भिडियो च्याटिङ एपभन्दा खासै फरक छैन तथापि यसमा एक सुविधा छ की यसमा कल गर्ने व्यक्ति अर्थात कलरको लाइभ भिडियो सुरुमै देखिन्छ ।
कल गर्ने व्यक्तिको अवस्था तथा किन कल गरिरहेको छ भन्ने कुराको भेउ सुरुमै पाउन सक्नुहुन्छ । त्यसैले कल उठाउने व्यक्तिले तत्काल कल रिसिभ गर्ने की नगर्ने भन्ने फैसला लिन सक्दछ । उक्त फिचरको नाम हो, नक नक । यो फिचरले भिडियो कलिंगलाई दिक्कलाग्दो नबनाउने र स्वागतयोग्य बनाउने दाबी गुगलको छ ।
गत मे मा गुगलल यो एपको घोषणा गरेको थियो । यो एप निशुल्क रुपमा एन्ड्रोइड स्मार्टफोन तथा एप्पलको आइओएस अपरेटिंग सिस्टमवाला स्मार्टफोनमा प्रयोग गर्न सकिने गुगलले आफ्नो अफिसियल ब्लगमा जनाएको छ ।
फेसटाइममा जस्तै डुओमा पनि कुनै व्यक्तिलाई भिडियो कल गर्नका लागि उसको फोन नम्बरको आवश्यकता पर्दछ र आफ्नो फोन लिष्टमा भएका मानिसहरुलाई भिडियो कल गर्न सकिने गुगलले जनाएको छ ।
गुगलले सन् २०१३ देखि ह्यांगआउटका माध्यमबाट भिडियो कलिंगको सुविधा दिइरहेको छ । तर ह्यांगआउटले अन्य भिडियो च्याटिङ एपहरुलाई खासै धक्का दिन नसकेपछि गुगलले नयाँ एप ल्याएको हो ।
गुगलका अनुसार डुओ धेरै विश्वासयोग्य हुनुका साथै सजिलो पनि छ र साथी र परिवारजनले कुराकानी गर्दा एक अर्कालाई हेर्न पाउनेछन् ।
यसका साथै गुगलले एक अर्को मेसेजिंग एप पनि ल्याउनेवाला छ । उक्त नयाँ एपको नाम एलोफिचरिग हुनेछ । जसले कुनैपनि मेसेजको जवाफ आफै दिनेछ । अर्थात् कस्तो खालको मेसेज आउँदा कस्तो जवाफ दिने भन्ने कुरा यो एपलाई थाहा हुनेछ ।