काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेको छ, जसले गर्दा देशैभर मौसममा सामान्य बदली छाएको छ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार, आज बिहानसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई जस्ता प्रमुख नदीहरूको जलस्तर सतर्कता तहभन्दा तल छ।
आज बाढीको जोखिम कहाँ-कहाँ?
आज इलाम, झापा, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, प्युठान, रुकुम पश्चिम, नवलपरासी (पूर्व र पश्चिम), जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको पूर्वानुमान छ।
त्यस्तै, मोरङ, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, पर्वत, बाग्लुङ, म्याग्दी, अछाम, डडेलधुरा, दार्चुला र यी क्षेत्रहरूमा रहेका साना नदीहरूमा पनि बाढीको मध्यम जोखिम रहने सम्भावना छ।
सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
