काठमाडौं,साउन २७ ।
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण समयमा नबुझाउने एक हजार तीनजना कर्मचारीलाई पाँच हजार रुपैयाँ जरिवाना गराएको छ ।
आर्थिक वर्ष ०७२/७३ मा आफ्नो सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियारले जरिवाना गरेको हो । विभिन्न निकायमा नियुक्त भएका कर्मचारीले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० को उपदफा १ बमोजिम नियुक्ति पाएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियारले वर्षेनी आर्थिक जरिवाना गराउँदै आएको छ । अख्तियारले उनीहरू सबैलाई सम्पत्ति विवरण पेस गर्न लगाउन सम्बन्धित निकायलाई पत्राचारसमेत गरिएको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कमा रहेको सूचना विभागमा कार्यरत रहँदा कम्प्युटर इन्जिनियर विदुर दाहालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । दाहालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विद्युत् प्राधिकरण काठमाडौं सूचना प्रविधि विभागमा कम्प्युटर इन्जिनियर (तह ७) पदबाट सेवा प्रवेश गरी ०६२ देखि ०७२ सम्म सोही पदमा बहाल रहँदा दाहालले एक करोड ६ लाख आठ हजार पाँच सय १७ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।